काठमाडौं, १६ वैशाख । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर तत्काल नियुक्त गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
‘बजेट अधिवेशनका बेला मौद्रिक नीति र वित्तीय नीतिको मूल्यांकन गर्ने बेलामा गभर्नर नियुक्ति नभएर अर्थतन्त्रमा परेको असर राम्ररी व्याख्या गर्न नसक्ने अवस्था सिर्जना भयो,’ उनले भने, ‘सरकारले तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस् ।’
गत चैत २२ गते निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर बिदा भएसँगै राष्ट्र बैंकको गभर्नर पद अहिलेसम्म रिक्त छ ।