विद्युत् आपूर्ति बन्द भएपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा

अनलाइनसमय |
१६ वैशाख २०८२
विद्युत् आपूर्ति बन्द भएपछि स्पेन र पोर्चुगलमा आपतकाल घोषणा

काठमाडौं, १६ वैशाख । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् । यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएका सीएनएनले जनाएको छ ।

पोर्चुगलको ग्रिड अपरेटरका अनुसार अनुसार मध्यान्हपछिको केही समयमा सम्पूर्ण इबेरियन प्रायद्वीप र फ्रान्सका केही भागहरूमा विद्युत् आपूर्ति बन्द भएको थियो । करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन् ।

केही घण्टापछि, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले अझै पनि विद्युत् आपूर्ति बन्द हुनुको कारण पत्ता नलागेको र समस्या समाधानको पहल भइरहेको जनाएका छन् ।
बत्ती र बिजुलीको प्लगले काम गर्न छोडेपछि मेट्रो रेल सेवा समेत ठप्प भएको थियो भने म्याड्रिडमा ट्राफिक बत्तीहरू बन्द हुँदा सडकमा ठूलो जाम देखिएको थियो ।

‘म गाडी चलाइरहेको थिएँ र अचानक ट्राफिक लाइटहरू बन्द भए … त्यो समय एकदमै अफ्ठ्यारो थियो,“ लुइस इबान्येज जिमेनेजले सीएनएनलाई भनेका छन्, ‘ठूलो बस आउँदै गरेको देखेँ र त्यसलाई पार गर्न निकै तीव्र गतीमा गाडी चलाउनु पर्‍यो।’

स्पेनको गृह मन्त्रालयले अन्डालुसिया, एक्स्ट्रेमाडुरा, मर्सिया, ला रियोजा र म्याड्रिड क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ऊर्जा संकट घोषणा गरेका छन् । पोर्चुगलको ग्रिड अपरेटरले विद्युत आपूर्ति पूर्ण रूपमा बहाल गर्न ‘जटिल भइरहेको जनाएको छ ।

सोमबारको अन्त्यसम्ममा, ग्रिड अपरेटरले दुबै देशमा बिस्तारै बिजुली आपूर्ति पुनः सुरु भएको छ । मंगलबार बिहानसम्म स्पेनमा ८७ प्रतिशतभन्दा बढी विद्युत् सेवा पुनःस्थापना भइसकेको बताइएको छ ।

यसअघि, म्याड्रिडका मेयर जोसे लुइस मार्टिनेज अल्मेडाले जनतालाई आवागमन कम गर्न र अत्यावश्यक काममा मात्र आपतकालीन सेवा प्रयोग गर्न आग्रह गरेका थिए । उनले सडक खाली राखेर आपतकालीन सेवाका सवारी साधनहरूलाई सहज मार्ग बनाउन पनि अनुरोध गरेका थिए ।

त्यसपछि, म्याड्रिडका आपतकालीन सेवाहरूले राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्न आग्रह गरे भने स्थानीय नेतृ इसाबेल डियाज आयुसोले सेना परिचालन गर्न देशलाई अनुरोध गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस