लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौं : विद्युत प्राधिकरण

अनलाइनसमय |
१४ वैशाख २०८२
लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौं : विद्युत प्राधिकरण

काठमाडौं, १४ वैशाख । नेपाल विद्युत प्राधिकरणले सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको बताएको छ ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको स्पष्ट पारेको हो । ‘बजारमा सामाजिक सन्जालमा व्याप्त अतिरन्जित हल्ला गरिए जस्तो गरी विद्युत आपुर्तीमा समस्या नरहेको जानकारी गराउंदछ । कहिं कतै कुनै पनि ग्राहस्थ ग्राहक वर्गको क्षेत्रमा लोड सेडिंग नभएको र आगामि दिनमा पनि घरायसी वर्गमा कुनै प्रकारको लोड सेडिंग नहुने कुरामा आश्वस्त गराउन चाहन्छौं । साथै औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकीको समयमा आफ्नो खपत कम गरेर सहयोग गर्नु हुन अनुरोध गर्दछौं । नेपालको नदीनालामा बहाव छिटै बढ्ने एवं भारतबाट पनि विद्युत आपुर्ति बढ्ने अवस्था रहेकोले हाल देखिएको समस्या छिटै समाधान हुने विश्वास व्यक्त गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ । यसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जाबाट २५ मेगावाट, तापीयबाट ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २ हजार १४९ मेगावाट छन् ।

हाल आन्तरिक उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेकोमा, विद्युतको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको छ । त्यसमा १ हजार ५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको प्राधिकरणले जनाएको छ ।

नेविप्राले गर्मी याम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको स्पष्ट गरेको छ ।

प्राधिकरणले हालको मौसम (प्रि–मनसुन) का कारण कतिपय स्थानमा आँधी, हुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुन सक्ने जनाएको छ । यस समयमा विद्यतीय संरचनाको मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतै कतै विद्युत बन्द हुने अवस्था आउन सक्नेछ, जसको सूचना अग्रिम रूपमा दिइँदै आएको छ ।

प्राधिकरणले नेपालको नदीमा बहाव बढ्ने र भारतबाट पनि आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै सबै उपभोक्तालाई धैर्य, सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस