काठमाडौं, १४ वैशाख । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ९८ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०१ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ८७ करोड ९३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १०४ धितोपत्रको शेयर मूल्य बढ्दा १४१ को घटेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार लगानी समूहको उपसूचक सर्वाधिक १ दशमलव ८७ प्रतिशतले बढेको छ । हाइड्रोपावर १ दशमलव ०७, व्यापार शून्य दशमलव ९६ र होटेल तथा पर्यटन उपसूचक शून्य दशमलव ७१ प्रतिशतले बढेको छ । यसदिन फाइनान्स शून्य दशमलव ८५, अन्य शून्य दशमलव ७३ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ७१ प्रतिशतले ह्रास आएको छ ।
आज नेपाल माइक्रो इन्सुरेन्सको र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ९ दशमलव ९९, हाइड्रोइलेक्ट्रिक इन्भेष्टमेन्टको शेयर मूल्य ८ दशमलव ०५ प्रतिशतले बढेको छ ।
आज विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेण्ट बैंक ५ दशमलव ०२, अपर सोलु हाइड्रो इलेक्ट्रिकको ४ दशमलव २६ र हिमालय हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ५९ प्रतिशतले घटेको छ ।