प्रधानमन्त्री ओलीको आक्रोश : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?

अनलाइनसमय |
१४ वैशाख २०८२
प्रधानमन्त्री ओलीको आक्रोश : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?

काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीको यो चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित छ ।

मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौं, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्य राखेको छ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं ।’

देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको उनले बताए ।

कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको ओलीको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस