कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

अनलाइनसमय |
१४ वैशाख २०८२
कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार अदालतले ३ दिनको म्याद दिएको हो ।
शनिबार साँझ कपनस्थित निवासबाट पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो । उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।

उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् । राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तर राईविरुद्ध भने पछि उजरी परेकाले अनुसन्धान गरेर पुरक अभियोजन गर्ने प्रहरीको तयारी छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस