काठमाडौं, १४ वैशाख । नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई कारबाहीको माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सभापति गैरेले संवाद सचिव फणिराज पाठकमार्फत वैशाख १३ गते जारी भएको विज्ञप्तिबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान र कानूनले मान्यता नदिएको ओहोदाको वक्तव्य जारी गर्ने संवाद सचिव डा.पाठक र पूर्वराजा शाहलाई कानुन अनुसार तत्काल कारबाही गर्न माग गरे ।
सांसद गैरेका अनुसार शनिबार संवाद सचिवको रुपमा पाठकले संवेदना वक्तव्य जारी गरेका थिए । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले भने, ‘हिजो १३ गते अत्यन्तै लज्जास्पद र संविधानविपरीतको एउटा वक्तव्य आयो ।
डा. फणिन्द्रराज पाठक संवाद सचिवको नामबाट प्रकाशित भएको वक्तव्य । त्यस वक्तव्यको हेडलाइनमना लेखिएको छ– श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश ।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्तो लेख्न नपाइने उनको उनले बताए । ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भन्ने कहाँ छ ?’ गैरेले प्रश्न गरे, ‘यो लेख्न कसरी सकिन्छ ? यो कसरी सम्भव भयो ? यो पाइन्छ कि पाइँदैन ? यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?’
पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने सांसद गैरेको आग्रह छ ।