काठमाडौं, १४ वैशाख । प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको जानकारी संघीय संसदलाई पठाएको छ । जिल्ला प्रहरी परिसर भद्रकालीले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा सांसद राईको पक्राउ सम्बन्धी जानकारी उल्लेख गरिएको हो ।
पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा सुमन खनाल समेतको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी स्वर्णलक्ष्मी बहुउद्देशीय सहकारी संस्था लिमिटेका अध्यक्ष तथा सञ्चालक गितेन्द्रबाबु राईसहित ठगी र संगठित अपराधसम्बन्धी कसुरको मुद्दामा भागी फरार रहेका माया राईलाई अनुसन्धानको क्रममा वैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१०, कपन स्थितबाट पक्राउ गरी कार्यालयमा दाखिल गरिएको छ ।’
प्रहरीले यस प्रकरणमा सांसद राईलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइरहेको जानकारी दिइएको छ ।