गोरखा भुकम्पको १० वर्ष, विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदै

अनलाइनसमय |
१२ वैशाख २०८२
गोरखा भुकम्पको १० वर्ष, विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदै

काठमाडौं, १२ वैशाख । आज वैशाख १२ गते, विनाशकारी गोरखा भूकम्प गएको १० वर्ष पूरा भएको छ । आजभन्दा १० वर्ष पहिले विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।

भूकम्पमा परी ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए । २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस