काठमाडौँ, १२ वैशाख । संसंघीय संसद्को नयाँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन् । संसद सचिवालयका अनुसार अधिवेशन अपराह्न १ बजेबाट सुरु हुने कार्यक्रम तय गरिएको छ ।
आजको पहिलो बैठकमा सभामुख देवराज घिमिरे राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी प्रस्तुत गर्नेछन्।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनसमेत आजको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
अधिवेशनको प्रारम्भिक दिन भएकाले प्रमुख राजनीतिक दलका नेताहरूलाई मन्तव्य राख्न समय दिइने संसद सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने छन् ।
गत चैत १८ गते सम्पन्न भएको हिउँदे अधिवेशनपछिको यो अधिवेशनलाई आगामी आर्थिक वर्षको बजेट प्रस्तुतिका दृष्टिले ‘बजेट अधिवेशन’को रूपमा लिइएको छ । संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु पर्ने व्यवस्था छ । संसद् सचिवालयका अनुसार यही वैशाख १९ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ भने वैशाख २८ गतेदेखि ‘प्रि–बजेट’ छलफल सुरु हुने सम्भावना छ ।
प्रि–बजेट छलफलका क्रममा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बहस गरिनेछ । यस्तै संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक यो अधिवेशनमा पारित गर्ने सरकारको तयारी छ ।