काठमाडौँ, १२ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन आज अपराह्न १ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी दिने छन् । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनसमेत गरिने सम्भावना छ ।
अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेताहरूलाई मन्तव्य राख्न समय दिइनेछ । प्रधानमन्त्री तथा नेकपा ९एमाले० संसदीय दलका नेता केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत गर्ने छन्।
संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नु पर्ने व्यवस्था छ । यही कारणले यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको हो । संसद् सचिवालयका अनुसार यही वैशाख १९ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ, जसपश्चात वैशाख २८ गतेदेखि ‘प्रि–बजेट’ छलफल सुरु हुने सम्भावना रहेको छ ।
बजेट प्रस्तुत हुनु १५ दिनअघि प्रि–बजेट छलफल गर्नु पर्ने कानुनी प्रावधान छ । सोही अनुसार, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रारम्भिक बहस हुनेछ ।
यस अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।