काठमाडौं, ३ वैशाख । सरकारको आम्दानीमा सामान्य सुधार देखिए पनि विकास लक्षित पुँजीगत खर्च भने घटेको छ । चालू आर्थिक वर्ष (आव)को ९ महिना बितिसक्दा पनि सरकारको विकास खर्च अपेक्षाअनुसार हुन सकेको छैन ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत चैत मसान्तसम्ममा विकास खर्च १ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ भएको छ । यो वार्षिक बजेट विनियोजनको २९ दशमलव ३३ प्रतिशत हो, जुन गत आवको यसै अवधिको तुलनामा २ दशमलव ९१ प्रतिशत बिन्दुले कमी हो । सो आवको ९ महिनामा यस्तो खर्च वार्षिक विनियोजनको ३२ दशमलव २४ प्रतिशत अर्थात् ९७ अर्ब ३७ करोड रुपैयाँ भएको थियो ।
चालू आवका लागि सरकारले विकास खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने गत आवका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख विनियोजन गरेको थियो ।
२०८१ को चैत मसान्तसम्ममा सरकारले ६ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ चालू खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ५९ दशमलव ५३ प्रतिशत हो । गत आवको यसै अवधिमा ६ खर्ब ४४ अर्ब २ करोड रुपैयाँ चालू खर्च भएको तथ्याङ्क छ ।
२०८१/८२ को लागि सरकारले चालू खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ दकरोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
९ महिनामा सरकारको आम्दानी ५८ प्रतिशत
चालू आवको ९ महिनामा सरकारको आम्दानी ८ खर्ब ३२ अर्ब ४२ करोड रुपैयाँ भएको छ । यो वार्षिक लक्ष्यको ५८ दशमलव ६५ प्रतिशत हो, जुन गत वर्षको यसै अवधिको तुलनामा ६ दशमलव ०६ प्रतिशत बिन्दुले बढी हो । २०८१ को चैतसम्ममा वार्षिक लक्ष्यको ५२ दशमलव ५९ प्रतिशत अर्थात् ७ खर्ब ४८ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको थियो ।
सरकारले यस वर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।