काठमाडौं, २ वैशाख । भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये यो एक प्रमुख जात्रा हो ।
यो मध्यपुर थिमीको सबैभन्दा ठूलो जात्रा हो । यसलाई सुथसिया जात्रा पनि भनिन्छ । बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा ल्याइन्छ । त्यहाँ सबै खट आइपुगेपछि सिन्दूरेजात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ ।
जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकआपसमा सिन्दूर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।
जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन छ ।
आजै मध्यपुर थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ । सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् ।