काठमाडौं, २८ चैत । चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा कर्जा ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ अर्थात् ६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा हेर्दा यो वृद्धि ७ दशमलव ७ प्रतिशत रहेको छ ।
गत फागुन मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको ठूलो हिस्सा अझै पनि घरजग्गा धितोमा आधारित छ । सो अवधिका बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६५ शदमलव २ प्रतिशत रहेको छ । यो २०८० को सोही अवधिमा ६७ दशमलव ५ प्रतिशत थियो । यसैगरी गत फागुन महिनामा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)तर्फ १४ दशमलव ५ प्रतिशत रहेको तथ्याङ्क छ ।
यस्तै फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव २ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव २ प्रतिशत र ३६ दशमलव ८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६ दशमलव ३ प्रतिशत, विकास बैंकहरूको ३ दशमलव १ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५ दशमलव ७ प्रतिशतले बढेको छ ।
२०८१/८२ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फ ९ दशमलव ३, निर्माण क्षेत्रतर्फ ९ दशमलव ५, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ४ दशमलव ४, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७ दशमलव ८ प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फ ८ दशकलव ९ र उपभोग्य क्षेत्रतर्फको कर्जा ६ दशमलव ७ प्रतिशतले बढेको तथ्याङ्क छ ।