काठमाडौं, ३७ चैत । नेपाल यु–१९ क्रिकेट टिमले अफगानिस्तानलाई तीन एकदिवसीय खेल शृङ्खलाको अन्तिम खेलमा ८५ रनको जित हात पारेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले डिएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार जित निकालेको हो ।
नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने अवसर पाएको थियो । निर्धारित ५० ओभरको खेलमा नेपाल ४४.५ ओभरमै अलआउट हुँदै १९१ रन बनायो । नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २०.१ ओभरमा ४६ रन बनाउँदा ६ विकेट गुमायो ।
लगातार पानी परेपछि खेल पुनः शुरू हुन नसक्दा डिएलएस पद्धतिअनुसार नेपाल विजयी भएको हो ।
नेपालका लागि साहिल पटेलले सर्वाधिक ४६ रन बनाए । निरजकुमार यादवले ४२ रन, रोशन विश्वकर्माले २८ रन, कप्तान नरेन भट्टले २२ रन र दर्स सुनुवारले १० रन जोडे ।
बलिङतर्फ अफगानिस्तानका हाफिज जद्रानले चार विकेट लिए । अब्दुल अजिज र जइतुल्लाह साहिलले समान दुई–दुई विकेट लिए भने रुहुल्लाह अरब र मेहेबुब खानले एक–एक विकेट लिए ।