काठमाडौं, २५ चैत । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चैत २४ बाट गभर्नर महाप्रसाद अधिकारी अवकाशमा गएसँगै आजको मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना छ, यद्यपि हालसम्म मन्त्रिपरिषद् बैठकका एजेन्डा भने खुलाइएको छैन ।
अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर चैत २२ मै बिदा भइसकेका छन् । अधिकारी बिदा भएसँगै हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने भए पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । राष्ट्र बैंक गभर्नरविहीन भएका बेला आज मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो । यस्तोमा कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति भए आज गभर्नरको नियुक्ति हुनसक्ने बताइन्छ ।