आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू

अनलाइनसमय |
२३ चैत २०८१
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू

काठमाडौं, २४ चैत । नेपालमा विद्यमान आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी चुनौतीहरूलाई प्रविधिमैत्री दृष्टिकोणबाट समाधान गर्न ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आजदेखि काठमाडौंमा शुरू भएको छ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले आयोजना गरेको उक्त सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज र भोलि गरि दुई दिन सञ्चालन हुनेछ ।

सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । यस अवसरमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सबै ७५३ वटै स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी उद्योगी तथा व्यवसायीह र सुरक्षा तथा आगलागी न्यूनीकरणका विषयमा विज्ञहरू उपस्थित रहनेछन् ।

दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड र भियतनामसहित १४ राष्ट्रका विज्ञहरूले आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्ने जनाइएको छ । सम्मेलनमा विभिन्न छलफल सत्र, प्रविधि प्रदर्शनी र अन्तरक्रियात्मक कार्यक्रम समावेश गरिएका छन्, जसले सहभागीहरूलाई अन्तर्राष्ट्रिय प्रविधिगत नवीनता, सफल अभ्यास र समाधानहरूको जानकारी दिनेछ ।

नेपालमा प्रत्येक वर्ष आगलागीका घटनाबाट व्यापक जनधनको क्षति हुने गरेको परिप्रेक्ष्यमा, यस किसिमका अन्तर्राष्ट्रिय सम्मेलनहरू आवश्यक र प्रभावकारी हुने आयोजकले बताएका छन् । यस्ता कार्यक्रममार्फत समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्नुका साथै नीतिगत सुधार र प्रविधि उपयोगलाई सशक्त बनाउने लक्ष्य लिइएको छ ।

यो सम्मेलन नेपालको सुरक्षा नीतिमा सुधार ल्याउने दिशामा एक महत्वपूर्ण कोशेढुंगा सावित हुने कार्यक्रम निर्देशक सुरेश श्रेष्ठको भनाइ छ । साथै नीति निर्माता, विज्ञ, सुरक्षाकर्मी तथा व्यवसायीहरूलाई एउटै साझा मञ्चमा ल्याई सहकार्य, साझेदारी र समाधानको अवसर सिर्जना गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस