काठमाडौं, ११ चैत । नेपाललाई अर्जेन्टीनासँगको वैदेशिक व्यापार घाटा बढ्दै गएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव)को ८ महिनामा नेपाललाई ४६ अर्ब ४७ लाख रुपैयाँ व्यापार घाटा भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ५ गुणा धेरै हो । गत आवको फागुनसम्ममा ७ अर्ब ५७ करोड ९७ लाख रुपैयाँ व्यापार घाटा भएको थियो ।
चालू आवको ८ महिनामा अर्जेन्टीनाबाट ४६ अर्ब ६४ लाख रुपैयाँको सामान आयात हुँदा नेपालले १६ लाख २४ हजारको मात्रै निकासी गरेको तथ्याङ्क छ ।
गत फागुनमा नेपालले १६० देशसँग वैदेशिक व्यापार गरेको थियो । जसमध्ये १२६ देशसँग व्यापार घाटा हुँदा ३४ देशसँग मात्र बचतमा रहेको देखिन्छ ।
गत साउनदेखि फागुन मसान्तसम्ममा नेपाललाई कुल ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ ।