काठमाडौं, ११ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सार्वजनिक गर्दै मेयर शाहले यस्तो सुझाव दिएका हुन् ।
अव्यवस्थित बस्ती हटाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास कुरामै सीमित रहेको भन्दै मन्त्री सिंहलाई उनले प्रश्न समेत गरे । ‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास सधै कुरामै रह्यो । कहिले गर्ने हो ?’
मेयर बालेलले आफूलाई हराउने नाममा आफ्नो क्षेत्र, देशलाई नहराउन आग्रह गरेका छन् । ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश चाहिँ नहराउनु होला,’ स्टाटसमा लेखिएको छ, ‘यत्रो गणेशमान सिंह, पी. एल. सिंह र नेपाली कांग्रेसको इतिहास चाहिँ माटोमा नमिसाउनु होला ।’