काठमाडौं, ७ चैत । चालू आर्थिक वर्ष (आव)को ८ महिनामा विराटनगर भन्सारबाट करिब ४ अर्ब रुपैयाँको जुटका कपडा बाहिरिएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार गत फागुन मसान्तसम्म ३ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ बराबरको ८ करोड ९ लाख ६३ हजार ३७१ वर्ग मिटर जुटका कपडा बाहिरिएको छ, जुन मूल्यका आधारमा गत आवको यसै अवधिको तुलनामा २३ दशमलव ५० प्रतिशत बढी हो । सो आव ३ अर्ब १० करोड ७९ लाख रुपैयाँ बराबरको ७ करोड ३० लाख २७ हजार ३६३ वर्ग मिटर यस्तो कपडा निकासी भएको थियो ।
गत फागुनमा मात्रै ६३ करोड ५ लाख रुपैयाँको २३ लाख ७६ हजार ६२२ वर्ग मिटर कपडा निकासी भएको तथ्याङ्क छ ।
आवको ८ महिनामा विराटनगर भन्सार कार्यालयले १ खर्ब ७१ अर्ब ५९ करोड २२ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमध्ये १ खर्ब ३१ अर्ब ५८ करोड ४४ लाख रुपैयाँको आयात भएको छ भने ४० अर्ब ७८ लाख रुपैयाँको मात्र निर्यात भएको छ । गत आवको फागुनसम्ममा १ खर्ब ३२ अर्ब ७७ करोड २० लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।