एक वर्षमै ५० प्रतिशतले बढ्यो सरकारको सार्वजनिक ऋण

अनलाइनसमय |
५ चैत २०८१
एक वर्षमै ५० प्रतिशतले बढ्यो सरकारको सार्वजनिक ऋण

काठमाडौं, ६ चैत । पछिल्लो एक वर्ष अवधिमा सरकारले लिएको सार्वजनिक ऋण बढेको छ ।

पछिल्लो ८ महिनामा मात्रै सरकारले करिब साढे ३ खर्ब ऋण लिइसकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले आन्तरिक तथा बाह्य गरी ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण लिएको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ५० दशमलव २५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा सरकाले आन्तरिक र बाह्य गरी २ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ सार्वजनिक ऋण लिएको थियो ।

सरकारले आठ महिनामा सबैभन्दा बढी आन्तरिक ऋण लिएको छ । कार्यालयका अनुसार फागुनसम्ममा २ खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ आन्तरिक ऋण लिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६४ दशमलव ८० प्रतिशतले बढी हो गत आवको फागुन मसान्तसम्ममा सरकाले १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण लिएको थियो ।

त्यस्तै गत आवको आठ महिनामा बाह्य ऋण ५९ अर्ब ३९ करोड रुपैयाँ लिएको सरकारले चालू आवको यसै अवधिमा यस्तो ऋण ६५ अर्ब ४७ करोड रुपैयाँ लिइसकेको छ । अर्थात एक वर्ष अवधिमै सरकारले लिएको बाह्य ऋण १० दशमलव २३ प्रतिशतले बढेको छ ।

सरकाले यस वर्ष भदौमा सबैभन्दा बढी ६० अर्ब ४७ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । गत आवको भदौमा सरकारले यस्तो ऋण ३७ अर्ब २ करोड लिएको थियो ।

सरकारले सुरुवातदेखि फागुन मसान्तसम्म तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये फागुनसम्म आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस