‘ग्लोबल मनी विक २०२५’ शुरू, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

अनलाइनसमय |
३ चैत २०८१
‘ग्लोबल मनी विक २०२५’ शुरू, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ४ चैत । यस वर्षको ‘ग्लोबल मनी विक’ आज (सोमवार)देखि शुरू भएको छ । ग्लोबल मनी विकको शुरू भएको अवसरमा काठमाडौंमा नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागको सहकार्यमा बृहत् कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीले वित्तीय सचेतना सबै उमेर, पेशा व्यवसाय, वर्ग र समुदायका मानिसलाई उत्तिकै अत्यावश्यक रहेको बताए । पैसा कसरी सदुपयोग गर्ने, कसरी सुरक्षित राख्ने र त्यसबाट अधिकतम लाभ कसरी लिने भन्ने ज्ञान, शीप र चेतना विस्तार भए मानिसको जीवनमा वित्तीय तथा आर्थिक समृद्धि हासिल हुन सक्ने उनको भनाइ छ ।

वित्तीय चेतना सानो उमेरदेखि नै दिन सके भविष्यमा व्यक्तिलाई आर्थिक तथा वित्तीय रूपमा धेरै हदसम्म सहयोग पुग्ने भन्दै उनले यसका लागि विद्यालय पाठ्यक्रममै वित्तीय साक्षरताको विषयमा समावेश गर्न पहल भइरहेको बताए ।

यस वर्षको ग्लोबल मनी विकको थिम ‘लर्न’, ‘सेभ’, ‘अर्न’ रहेको छ, जसको पैसा कसरी बचत वा लगानी गर्ने भन्ने सिक्न, त्यसलाई उचित र सुरक्षित रूपमा बचत तथा लगानी गर्न र त्यसबाट प्रतिफल आर्जन गर्न प्रेरित गर्दछ ।

यसैगरी यस वर्षको नारा ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ रहेको छ । कुनै पनि ठाउँमा पैसा लगाउनुअघि धेरै सोचविचार गर्नुपर्ने र सुझबुझ पूर्ण रूपमा गरिएको पैसाको कारोबार बुद्धिमत्ता हुने उक्त नाराको आशय रहेको छ ।

ग्लोबल मनी विक एक वार्षिक वैश्विक चेतना अभिवृद्धि अभियान हो, जसको उद्देश्य प्रारम्भिक उमेरदेखि नै युवाहरूलाई वित्तीय रूपमा सचेत बनाउनु हो । यस अभियानले तिनीहरूलाई वित्तीय निर्णयहरू सही रूपमा गर्न आवश्यक ज्ञान, सीप, दृष्टिकोण र व्यवहारहरू क्रमशः विकसित गर्न मद्दत गर्दछ, जसका कारण अन्ततः उनीहरूले वित्तीय लाभ र वित्तीय स्थिरता प्राप्त गर्न सक्छन् ।

यो अभियानलाई ओइसिडी अन्तर्राष्ट्रिय वित्तीय शिक्षा सञ्जालद्वारा विश्वव्यापी रूपमा समन्वय गरिन्छ र राष्ट्रिय स्तरमा विभिन्न सरोकारवाला निकायहरूले आयोजना गर्छन् । यस अवसरमा नेपालका बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र बजारसँग सम्बन्धित संस्थाहरूले पनि विभिन्न कार्यक्रम गरी वित्तीय चेतना प्रवद्र्धनका कार्यक्रम गर्दै छन् ।

ग्लोबल मनी विकमा सहभागी संस्थाहरूले युवाहरूसँग प्रत्यक्ष रूपमा तथा अनलाइन माध्यमबाट विविध वित्तीय शिक्षा गतिविधिमार्फत संलग्न भएर उनीहरूलाई वित्तीय ज्ञान प्रदान गर्छन् ।
यी गतिविधिहरूमा वित्तीय शिक्षा कार्यशालाहरू, तालिम कार्यक्रम र सेमिनारहरू, मुद्रा संग्रहालय तथा वित्तीय संस्थाको भ्रमण, सार्वजनिक बहस तथा प्रतियोगिता, वित्तीय साक्षरतासम्बन्धी खेलहरू र मेलाहरू लगायत विविध कार्यक्रमहरू समावेश हुन सक्छन् ।

धेरै देशहरूमा समाजिक सञ्जाल, वेबसाइट, टेलिभिजन, रेडियो, मुद्रित सामग्री लगायत विभिन्न माध्यमबाट वित्तीय शिक्षासम्बन्धी सन्देश प्रसारण र प्रचार गरिन्छ । वर्षौंदेखि, ओइसिडी, आइएनएफईका सदस्य राष्ट्रहरू यस अभियानमा सहभागी हुँदै आएका छन् ।

सन् २०१२ देखि शुरू भएको ग्लोबल मनी विकका १२ संस्करणमा १७६ देशहरू सहभागी भएका छन्, जसबाट ६० लाख बालबालिका र युवाहरू लाभान्वित भएको ग्लोबल मनी विकको वेबसाइटमा उल्लेख छ । सबै संस्करणमार्फत यो अभियान १७६ देशमा ६ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस