काठमाडौं, १ चैत । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ८ महिनासम्ममा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्नुसार फगुनसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तर, सो अवधिमा सरकारको ८ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । अर्थात् आठ महिनामा सरकारको आम्दानीभन्दा एक खर्ब ५३ करोड ४७ लाख रुपैयाँ खर्च बढी छ ।
सरकारको विकास खर्च पनि निराशाजनक छ । ८ महिना बितिसक्दा समेत सरकारले विकास खर्चतर्फ छुट्याइएको बजेट आधा पनि परिचालन गर्न सकेको छैन । फागुनसम्ममा सरकारले पूँजीगततर्फ ८२ अर्ब ३३ करोड रुपैयाँ मात्र खर्च गरेको छ, जुन पूँजीगत खर्चतर्फ छुट्याइएको वार्षिक बजेट विनियोजन लक्ष्यको २३ दशमलव ३७ प्रतिशत मात्र हो । यस वर्षका लागि सरकारले यस्तो खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
त्यस्तै चालू आवको आठ महिनामा सरकारले चालूतर्फ ५ खर्ब ८४ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ, जुन यस तर्फ छुट्याइएको वार्षिक बजेट विनियोजन लक्ष्यको ५१ दशमलव २१ प्रतिशत हो । यस वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन विनियोजन गरेको थियो ।
त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकोमा लक्ष्यको ४७ दशमलव ०७ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ ।
लक्ष्यको ५० प्रतिशत राजस्व संकलन
चालू आवको आठ महिनामा सरकारले लक्ष्यको ५० दशमलव ७५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । यस वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा फागुन मसान्तसम्म सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर उठेको छ । जसमध्ये, कर राजस्वबाट ६ खर्व ३८ अर्ब ७९ करोड र गैर–कर राजस्वबाट ८१ अर्ब ५४ करोड रुपैयाँ बराबर आम्दानी उठेको छ ।