काठमाडौं, २७ फागुन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को सात महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि १ खर्ब ९७ अर्ब २१ करोड अर्थात ४ शदमलव १ प्रतिशत मात्र थियो ।
२०८१ माघ मसान्तसम्म वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ । यसमध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा ६३ दशमलव ८ प्रतिशत रहेको छ भने गतवर्षको यसै अवधिमा ६३ दशमलव २ प्रतिशत थियो । त्यस्तै गत माघसम्म व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको हिस्सा ३६ दशमलव २ प्रतिशत हुँदा गत वर्षको यसै अवधिमा ३६ दशमलव ८ प्रतिशत थियो ।
समीक्षा अवधिमा कर्जा प्रवाहलाई बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरणअनुसार हेर्दा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५ दशमलव ९, विकास बैंकहरूको ३ दशमलव १ र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५ दशमलव २ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
गत माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को सुरक्षणमा १४ दशमलव ४ प्रतिशत रहेको छ भने गत वर्षको यसै अवधिमा ११ दशमलव ६ प्रतिशत रहेको थियो ।
घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जा २ दशमलव ५ प्रतिशत बिन्दुले घटेको देखिन्छ । २०८० को माघमा ६७ दशमलव ६ प्रतिशत रहेको घर जग्गा धितो सुरक्षण गत माघमा ६५ दशमलव १ प्रतिशत मात्र रहेको तथ्याङ्क छ ।
यसैगरी औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९ दशमलव ५, निर्माण क्षेत्रतर्फ ९, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । साथै, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ६ दशमलव ७, सेवा उद्योग क्षेत्रतर्फ ७ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ५। दशमलव ९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३ दशमलव ६, मार्जिन प्रकृतिको कर्जा २७ दशमलव ८, ट्रष्ट रिसिट (आयात) कर्जा ६९ दशमलव ५, हायर पर्चेज कर्जा ४ दशमलव ५, नगद प्रवाह कर्जा ३ दशमलव ७ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३ दशमलव २ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा अधिविकर्ष कर्जा भने १२ दशमलव ४ प्रतिशतले घटेको देखिन्छ ।