काठमाडौं, १६ फागुन । साढे सात महिनामा सरकारकोे विकास लक्षित पुँजीगत खर्च २१ दशमलव १६ प्रतिशत मात्र भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को फागुन १५ गतेसम्ममा यस्तो खर्च ७४ अर्ब ५७ करोड रुपैयाँ भएको हो, जुन गत आवको तुलनामा २ दशमलव ०८ प्रतिशत बिन्दुले कमी हो । गत आवको साढे सात महिनामा यस्तो खर्च वार्षिक बजेट विनियोजनको २३ दशमलव २४ प्रतिशत अर्थात् ७० अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।
चालू आवका लागि सरकारले पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आवमा यस्तो बजेट ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको थियो ।
४७.३२ प्रतिशत राजस्व
गत आवको तुलनामा चालू आवमा सरकारको राजस्व सङ्कलन बढेको छ । महालेखाको तथ्याङ्क अनुसार गत आवको साढे सात महिनाको तुलनामा चालू आवको सोही अवधिमा राजस्व संकलन ५ दशमलव ४८ प्रतिशत विन्दुले बढेको हो ।
गत फागुन १५ गतेसम्ममा ६ खर्ब ७१ अर्ब ६१ करोड अर्थात् ४७ दशमलव ३२ प्रतिशत आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा ५ खर्ब ९५ अर्ब १८ करोड अर्थात् ४१ दशमलव ८४ प्रतिशत थियो ।
सरकारले यस वर्ष रू. १४ खर्ब १९ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।