काठमाडौं, १३ फागुन । बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्ष छनोटका लागि गठित समितिले ओझासहित पूर्व सचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
अध्यक्षमा नियुक्त ओझा सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा रहेर काम गरिसकेका व्यक्ति हुन् । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा काम गर्नुका साथै पर्यटन नीति, २०८१ निर्माणमा संलग्न, नीतिगत तथा कानुनी परामर्शदाताका रूपमा पनि काम गरेका छन्।
ओझा प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष हुन् । उनी ३३ वर्षका छन् ।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।
सिलवाल निलम्बनमा परेपछि रिक्त रहेको प्राधिकरण अध्यक्ष पदमा सरकारले शरद ओझालाई नियुक्त गरेको हो ।