काठमाडौं, ११ फागुन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार ७५५ दशमलव ४ बिन्दुमा कायम भएको छ ।
आज २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ८ अर्ब ६२ करोड ७६ लाखको कारोबार भएको थियो ।
आज ९२ धितोपत्रको शेयर मूल्य बढ्दा १४७ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् ।
आज अन्य समूहको उपसूचक सर्वाधिक ३ दशमलव ७२ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन २ दशमलव ७८, लगानी १ दशमलव ३३ र जीवन बीमा शून्य दशमलव ८६ प्रतिशले बढेको छ । यसदिन व्यापार १ दशमलव ३२, माइक्रो फाइनान्स शून्य दशमलव ६६ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।
आइतबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबल योजना ९ दशमलव ९४, छ्याङ्दी हाइड्रोपावरको ८ दशमलव ०२ र बोटलर्स नेपाल (बालाजु)को ७ दशमलव २९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज उपकार लघुवित्तको ६ दशमलव ७९, पिपुल्स हाइड्रोपावरको ६ दशमलव ०२ र अपर हेवाखोला हाइड्रोपावरको ५ दशमलव २३ प्रतिशतले शेयर मूल्यमा ह्रास आएको छ ।