काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्ष (आव)को ७ महिनामा मेची भन्सारबाट पाँच अर्बको अलैँची बाहिरिएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार गत फागुन मसान्तसम्ममा ५ अर्ब ३८ करोड ८० लाख रुपैयाँको अलँैची बाहिरिएको छ, जुन गत आवको यसै अवधिको तुलनामा २१ दशमलव ३ प्रतिशत बढी हो । गत आवको फागुनसम्ममा यो भन्सारबाट ४ अर्ब ४४ करोड १६ लाख रुपैयाँको निर्यात भएको थियो ।
यसैगरी गत आवको ७ महिनाको तुलनामा चालू आवको सोही अवधिमा चिया निर्यात ५५ दशमलव ३ प्रतिशतले बढेको छ । गत फागुनसम्ममा ३ अर्ब १६ करोड ६२ लाख रुपैयाँको चिया निर्यात भएको छ भने गत वर्षको यसै अवधिमा २ अर्ब ३ करोड ८४ लाखको निर्यात भएको थियो ।
२०८१ को फागुनसम्ममा मेची भन्सारले ४३ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २७ अर्ब ३४ करोड ५३ लाखको आयात हुँदा १६ अर्ब ४ करोड ८४ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको सो अवधिमा ३९ अर्ब ३ करोड ७९ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।