काठमाडौं, ६ फागुन । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को सात महिनासम्ममा सार्वजनिक ऋणको दायित्व २६ खर्ब नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आवको शूरूमा तिर्न पर्ने बाँकी ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । आवको सात महिनामै १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ ऋण थपिएर माघ मसान्तसम्ममा २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड तथा बाह्य ऋण १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । साउन १ गतेसम्म यस्तो ऋण क्रमशः ११ खर्ब ८० अर्ब ९० करोड र १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।
गत आवको ७ महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो ऋण ९ दशमलव ३९ प्रतिशत बढी हो । २०८० को माघसम्ममा यस्तो ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ थियो ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४५ दशमलव ७७ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण जीडीपीको २२ दशमलव ४९ र बाह्य ऋण २३ दशमलव २८ प्रतिशत छ ।