परराष्ट्रमन्त्री देउवा र कतारका विदेशमन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह

अनलाइनसमय |
४ फागुन २०८१
परराष्ट्रमन्त्री देउवा र कतारका विदेशमन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह

काठमाडौं, ४ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो । साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा छलफल भएको राससमा उल्लेख छ ।

सो अवसरमा मन्त्री देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन् । इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन उनले आग्रह गरेकी थिइन् ।

केही समय अघि उनले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस