काठमाडौं, ४ फागुन । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर २ हजार ६ सय ९८ दशमलव ०३ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७.२६ अङ्कले घटेको नेप्से २,६७८ को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर ९६ हजार २८२ पटक किनबेच हुँदा ९ अर्ब ४७ करोड ३लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ७ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार ३०९ धितोपत्र कारोबारमा आए, जसमध्ये १७६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६३ धितोपत्रको मूल्य बढेको छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फन्ड र निर्जीवन बीमाबाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ४.९४ प्रतिशतले बढेको छ । त्यस्तै होटल एन्ड टुरिजमको १.९५, माइक्रोफाइनान्सको १.८६, उत्पादनमुलक समूहको ०.२०, लगानी समूहको ०.१७, बैंकिङ समूहको ०.९८, जीवन बीमाको ०.३९, हाइड्रोपावरको ०.३६, व्यापार समूहको ०.२५, विकास बैंकको ०.०८ र अन्य समूहको उपसूचक ०.३८ प्रतिशतले बढेको छ ।
आइतबार चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानाकी फाइनान्स छन् । त्यस्तै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ९.९९, पोखरा फाइनान्सको ९.९८, गुर्खाज फाइनान्सको ८.७८, पीपुल्स हाइड्रोपावरको ७.९१ र गुडवील फाइनान्सको ७.८१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आजै न्यादी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सको ९.५५, एनआईबीएल स्टेबल फन्डको ७.४८, बाराही हाइड्रोपावरको ७.४१ र कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८० प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि छन् ।