काठमाडौं, २ फागुन । चालू आर्थिक वर्षको ७ महिनामा करिब २७ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार आवको ७ महिनामा २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । जसमध्ये सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटनमुलक क्षेत्रमा रहेको छ । यस क्षेत्रमा १७ अर्ब ३२ करोड ७५ लाख रुपैयाँ प्रतिबद्धता आएको हो ।
सो अवधिमा सेवामूलकतर्फ ५ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ प्रतिबद्धता आएको छ भने उत्पादनमूलकतर्फ २ अर्ब १२ करोड २० लाख प्राप्त भएको छ । त्यस्तै सूचनाप्रविधिमूलकतर्फ ८० करोड ६८ लाख, कृषिमूलकतर्फ ७४ करोड १० लाख र पूर्वाधारमूलकतर्फ १२ करोड र उर्जामूलक क्षेत्रमा २ करोड ५५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार लगानी प्रतिबद्धता विभिन्न क्षेत्रका ३८६ उद्योग स्थापनाका लागि आएको छ । सो लगानी प्रतिबद्धता १६८ वटा पर्यटनमूलक, १३४ वटा सूचनाप्रविधिमूलक, ४८ वटा सेवामूलक, २७ वटा उत्पादनमूलक, ६ वटा कृषिमूलक, दुई वटा पूर्वाधारमूलक र एउटा उर्जामूलक उद्योग स्थापना गर्न आएको विभागले जनाएको छ ।