काठमाडौं, ३० माघ । पूर्वडीआईजी छविलाल जोशी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।
जोशीका तर्फबाट उनका छोरा तथा अधिवक्तासमेत रहेका रोचक जोशीले थुनामा पठाउने सो आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका हुन् । ७३ नं. निवेदनमार्फत जोशीको तर्फबाट उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता भएको हो ।
आदेश पूर्वाग्रही रहेकाले त्यसको बदर माग गर्दै जोशीका तर्फबाट निवेदन दर्ता भएको उच्च अदालत तुलसीपुर बुटवल इजलास कार्यालयका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
जोशी यसअघि पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ ।
यसअघि यो मुद्दामा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।