काठमाडौं, २५ माघ । झापाबाट काठमाडौं आउँदै गरेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा आज बिहान करिब पौने चार बजे गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा ३ पुरुष र २ महिला छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ ।
गम्भीर घाइते भएका मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएका छन् ।
उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४०० मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।