जनवरीमा समग्र पर्यटक आगमन बढ्दा भारतीय घटे

अनलाइनसमय |
२१ माघ २०८१
जनवरीमा समग्र पर्यटक आगमन बढ्दा भारतीय घटे

काठमाडौं, २१ माघ । सन् २०२५ को पहिलो महिनामा करिब ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन आघिल्लो वर्षको सोही अवधिको तुलनामा १ दशमलव १२ प्रतिशतले बढी हो । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए ।

जनवरीमा समग्र पर्यटक आगमन बढेको छ । तर, भारतीय पर्यटक आगमन भने १५ प्रतिशतले घटेको छ । यस वर्षको जनवरीमा भारतबाट २० हजार ४ सय ८५ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही आधिको तुलनामा १५ प्रतिशतले कम हो । २०२४ जनवरीमा २४ हजार १ सय ३९ भारतीय नेपाल घुम्न आएका थिए । भारतीय पर्यटक नेपालमा सबैभन्दा धेरै आउने गर्छन् ।

भारतपछि छिमेकी मुलुक चीनबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार १ सय ९१ चिनियाँ नागरिक नेपाल घुम्न आएका छन् । गत वर्षको एक महिनामा चीनबाट ७ हजार २६७ पर्यटक भित्रिएका थिए ।

त्यस्तै अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अस्ट्रेलियाबाट ४ हजार ३०१, साउथ कोरियाबाट ३ हजार ७५६,थाइल्यान्डबाट ३ हजार २१९, भुटानबाट २ हजार ७६८ र जापानबाट १ हजार ५७० पर्यटक नेपाल आएका छन् ।

युरोपेली बढे
यस वर्षको जनवरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्यामा सुधारदेखिएको छ । बोर्डका अनुसार जनवरीमा युरोपेलीमध्ये सबैभन्दा धेरै बेलायतबाट ३ हजार ५ सय २१ पर्यटक आएका नेपाल आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.५ प्रतिशत बढी हो । २०२४ जनवरीमा ३ हजार २ सय ७६ पर्यटक बेलायतबाट आएका थिए । त्यस्तै जर्मनीबाट १ हजार ३ सय २१, फ्रान्सबाट १ हजार १०, रुसबाट ६ सय १६, नेदरल्यान्डबाट ५७३, इटालीबाट ५२५ र स्पेनबाट ४ सय २५ पर्यटक आएको बोर्डले जनाएको छ । यी सबै देशबाट आउने पर्यटकको सङ्ख्यामा सुधार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस