काठमाडौं, २१ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा साढे ७ खर्बबढी विप्रेषण (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ भित्रिएको हो ।
समीक्षा अवधिमा ४ दशमलव १ प्रतिशतले विप्रेषण आप्रवाह बढेको छ । गतवर्षको यसै अवधिमा २२ दशमलव २ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव १ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । गतआवको सोही अवधिमा यस्तो आप्रवाह १९ दशमलव ५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड थियो ।
यस्तै सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।