काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यावसायीलाई आग्रह गरेका छन् ।
बिहीबार नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले निर्यात बढाउन आग्रह गरेका हुन् । निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र उत्पादित वस्तु कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर अनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्ने उनको जोड थियो ।
पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकुल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको बताए ।
“अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौँ । त्यो वास्तविक छैन । खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यापार मान्न सकिँदैन ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्नेछ । अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ ।”
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशले उद्योग–व्यवसाय क्षेत्रमा सकारात्मक आशा प्रवाह भएको बताए ।
नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।