काठमाडौं, १५ माघ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै आज नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंकिङ्ग प्रणालीबाट २१ दिनको लागि ३० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । यसका लागि दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसअघि आइतबार राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।
सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ६ गते तोकिएको छ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरण राष्ट्र बैंकले तरलता प्रशोचन गर्न प्रयोग गर्ने विभिन्न उपकरण मध्ये एक हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्ने गर्छ ।