काठमाडौं, १४ माघ । सरकारले भारतबाट ९० हजार टन गहुँ आयात गर्न इच्छुक फर्म/कम्पनीका लागि आवेदन मागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गर्दै इच्छुक आयातकर्तालाई आवेदन दिन भनेको हो ।
विभागका अनुसार इच्छुक कम्पनीले न्यूनतम १ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउनेछन् । यसरी आयात गर्न चाहने फर्म वा कम्पनीको चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ बराबर हुनुपर्ने सर्त छ । इच्छुक फर्म÷कम्पनीले ७ दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने छ ।
त्यस्तै गहुँ आयातका लागि नेसननल कोअपरेटिभ एक्स्पोर्टस लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोत सुनिश्चितता भएको हुनुपर्ने, कम्पनीले माग गरेका आधारमा प्राप्त कोटा विभागबाट अघिल्लो वर्ष आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई गहुँ आयात गर्न सक्ने क्षमताका आधारमा प्राथमिकता दिई बाँडफाँट गरिने विभागले जनाएको छ ।
विभागका अनुसार एउटा फर्म वा कम्पनीले कम्तीमा १ सय टन र बढीमा १० हजार टन आयात गर्न पाउने गरी कोटा बाँडफाँट गरिने छ, कोटा प्राप्त भएको मितिले ३ महिनाभित्र आयात गरिसक्नुपर्ने छ भने अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने छ ।
