काठमाडौं, १३ माघ । चालू आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेख सहित) ४३ दशमलव ६२ प्रतिशत जनसंख्या जीवन बीमाको दायरामा आएका छन् ।
यो गत आवको पुससम्मको तुलनामा शून्य दशमलव ५७ प्रतिशत विन्दुले बढी हो । गत आवको सोही अवधिमा म्यादी, लघुम्यादी र वैदेशिक रोजगारी जीवन बीमालेखसहित जीवन बीमाको दायरामा आएको जनसङ्ख्या ४३ दशमलव ०५ प्रतिशत थियो ।
चालू आवको पुससम्ममा (लघु म्यादी र वैदेशिक रोजगारी बाहेक) १६.८१ प्रतिशत जनसंख्यामात्र जीवन बीमाको दायरामा छन्, जुन गत आवको पससम्मको तुलनामा शून्य दशमलव २७ प्रतिशत विन्दुले कम हो । गत आवको सो अवधिमा यस्तो बीमाको दायरामा आउने जनसङ्ख्या १७.०८ प्रतिशत थियो । यस्तै म्यादी र लघुम्यादी सहितको बीमाको दायरामा आउने जनङ्ख्या गत आवको पुससम्मको तुलनामा ०.८१ प्रतिशत विन्दुले घटेर ३५.९७ प्रतिशतमा सीमित भएको छ । गत आवको पुससम्ममा यस्तो बीमाको दायरामा आउने जनसङ्ख्या ३६.७८ प्रतिशत थियो । वैदेशिक रोजगारी बीमाले दायरा केही बढेको देखिए पनि समग्रमा भने घटेको देखिन्छ ।
१ खर्ब नाघ्यो व्यवसाय
चालू आवको पुससम्ममा बीमाको व्यवसाय १ खर्ब भन्दा बढी भएको छ । प्राधिकरणका अनुसार सो अवधिमा जीवन बीमा र निर्जीवन बीमा गरी १ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ बराबरको व्यवसाय भएको छ, जुन गत आवको ६ महिनाको तुलनामा ९.४२ प्रतिशतले बढी हो हो । गत आवको सोही अवधिमा जीवन बीमा र निर्जीवन बीमा दुबै गरी ९३ अर्ब ६६ करोड रुपैयाँ बीमा शूल्क संकलन भएको थियो ।
प्राधिकरणका अनुसार जीवन बीमा शुल्कबाट चालू आवको ६ महिनामा ८१ अर्ब ७६ लाख रुपैयाँ संकलन भएको छ, जुन गत आवको पुसम्मको तुलनामा ९.३७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमाको व्यवसाय ७४ करोड २२ लाख रुपैयाँ बराबरको भएको थियो ।
त्यस्तै गत आवको पुसमा निर्जिवन बीमा व्यवसायबाट १९ करोड ४४ लाख बीमा शुल्क आर्जन भएकोमा चालू आवको यसै अवधिमा यस्तो बीमा शुल्क २१ करोड ३० लाख रुपैयाँ संकलन भएको छ । अर्थात् एक वर्ष अवधिमा निर्जिवन बीमाको व्यवसाय ९.६० प्रतिशतले बढेको छ ।
यसैगरी चालू आवको पुससम्ममा १ करोड ४० लाख ४१ हजार जीवन बीमाको र १५ लाख ५७ हजार निर्जिवन बीमाको सक्रिय बीमालेख छन् । गत आवको पुससम्ममा यस्ता सङ्ख्या क्रमशः १ करोड ३७ लाख ५५ हजार र १४ लाख ४१ हजार थियो ।
हाल १४ वटा जीवन, १४ वटा निर्जीवन तथा ४ वटा निर्जीवन लघु बीमा र ३ वटा जीवन लघु बीमा कम्पनीहरु संचालनमा रहेका छन् । बीमा कम्पनीहरुको शाखा कार्यालय सङ्ख्या ३ हजार २ पुगेको छ । पछिल्लो १ वर्षमै समग्रमा बीमा कम्पनीहरुको शाखा सञ्जाल ४.६७ प्रतिशतले बढेको छ । गत आवको पुससम्ममा यस्तो बीमाको कार्यालय २ हजार ८६८ मात्रै थिए ।
प्राधिकरणका अनुसार चालू आवको पुससम्ममा जीवन बीमा कम्पनीको शाखा १ हजार ८४४ पुगेको छ, जुन गत पुसको तुलनामा २.८८ प्रतिशतले शाख सञ्जाल विस्तार भएको देखिन्छ । यस्तै, निर्जीवन बीमा कम्पनीको शाखा गत आवको पुसको तुलनामा ११.३५ प्रतिशतले बढेर १ हजार १५८ पुगेको छ । गत आवमा निर्जिवन बीमाको कम्पनी १ हजार ४० मात्रै थिए ।
त्यस्तै, बीमा कम्पनीहरुको कर्मचारी संख्यासमेत ११ हजार ४९८ बाट बढेर ११ हजार ९०१ पुगेको छ । १ वर्षमा कर्मचारी संख्या ३.५ प्रतिशतले बढेको हो ।