अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

अनलाइनसमय |
२३ पुष २०८१
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।

गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन्स च्याम्पियनसीप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।

यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भूटानको थिम्पुमा भएको काभा बीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्ट पुरस्कृत भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लिएमा खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने बताए । उनले नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने आग्रह गर्दै त्यसका लागि लाग्न आग्रह गरे ।

यस्तै प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा यस क्षेत्रमा ठुला सफलताहरु प्राप्त गर्दै जानुपर्ने बताए । नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस