काठमाडौँ, २२ पुस । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको राससमा उल्लेख छ ।
प्रवक्ता अधिकारीका अनुसार भदौसम्ममा अवैध मालसामान बरामदबाट सबैभन्दा बढी ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको भएको छ । त्यस्तै ट्राफिक जरिवानाबाट ५२ करोड ७ लाख रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी चार करोड ३७ लाख रुपैयाँ राजस्व उठेको छ ।
त्यसैगरी स्रोत नखुलेको दुई करोड ९० लाख रुपैयाँ, हुण्डी कारोबार नियन्त्रणबाट एक करोड ८३ लाख रुपैयाँ, अवैध काठ बरामदबाट एक करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।