काठमाडौं, २१ पुस । अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी हुने भएको छ । लमजुङको मर्स्याङ्दी नदीमा निमार्ण हुने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा ३ बैंकले लगानी गर्ने भएका हुन् ।
लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तियकरणमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच उक्त परियोजना निर्माणका लागि लगानी गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार परियोजना निमार्णको लागि सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने छन् । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवद्र्धक/संस्थापकहरूको लगानी रहने छ । अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रहेको छ ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ७ अर्ब रहेको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सहअगुवा ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।
अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले १० पुस २०७५ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै ९ पुस २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवद्र्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।
आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने कम्पनीले जनाएको छ ।