काठमाडौं, १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिएका छन् ।
नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन् ।
उनले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको र यसैलाई मध्यनजरी गरी सरकारको नयाँ पर्यटन नीति तयार भइरहेको जानकारी दिए । नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको उनको भनाइ छ । अब छिट्टै नयाँ पर्यटन नीति आउने उनले बताए ।
यस्तै पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताए । यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा पर्यटन बोर्ड अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पूर्वाधार विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा बोर्डले जोड दिनुपर्ने बताए ।
बोर्ड सञ्चालक समिति सदस्य ऋषि भण्डारीले यसका लागि पर्यटन प्रर्वद्धन मुख्य जिम्मेवारी बोकेको पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने बताए ।
यसैगरी कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटक आगमन बिस्तारै लयमा फर्किंदै गएको र पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे ।