काठमाडौं, १२ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीका पूर्व उपाध्यक्ष रावलले पार्टी छाडिसकेकाले उनलाई निकालिएको नभई आफैँ छाडेको बताए ।
उनले भने, ‘रावलजीले एमालेको मूल्य मान्यता र अनुशासनभित्र बस्न सक्नुभएन । संसदभित्रको संसदीय ह्विप उल्लङ्घन गर्नुभयो । पार्टी र पार्टीका अध्यक्षविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभयो । त्यसैले पार्टी सदस्य रहनुभएन । त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ।’
पुस १० गते एमाले सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।
संसद् भित्रको संसदीय ह्विप उल्लंघन गरेकै दिनबाट भीम रावलले एमाले छाडिसकेको पोखरेलले बताए । संसद विघटनपछिको परिस्थितिमा नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरु विपक्षमा उभिएका थिए ।
रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलले आरोप लगाए । ‘आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने गर्नुभएको थियो । अरुमाथि आफूले गर्ने जङ्गी व्यवहार, आफू भने नियममा बस्न पर्दैन ?’, उनले प्रश्र गरे । पार्टीले रावललाई सुध्रिने अवसर दिए पनि नसुध्रिएपछिको परिणाम भएको पोखरेलको धारणा छ ।
पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलले बताए । त्यसको अर्थ उनले पार्टी छाडिसकेको पोखरेलको भनाइ छ ।