कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

अनलाइनसमय |
११ पुष २०८१
कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

काठमाडौं, ११ पुस । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार शेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर आजैबाट टेकओभर गरेको बैंकको संस्थापक लगायत सबै शेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । शेयर कारोबार रोक्का हुनुअघिसम्म बैंकको शेयर प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार भइरहेको थियो ।

बुधबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकले आजैदेखि उक्त बैंकको व्यवस्थापनमा आफ्ना कर्मचारी समेत खटाइसकेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसेका कारण समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक ऐन २०५८ अनुसार बैंकले निक्षेपकर्ता, सेयरधनी, साहु वा सर्वसाधारणको हितविपरीत हुने गरी कुनै कार्य गरेमा, वित्तीय दायित्व पूरा नगरेमा वा गर्न नसक्ने अवस्थामा पुगेमा, दामासाहीमा परेमा वा आर्थिक कठिनाइ भोगिरहेको अवस्थामा, ऐनविपरीतका कार्य गरेमा झुट्टा जालसाजी वा गलत कागजात वा तथ्य पेस गरी इजाजतपत्र प्राप्त गरेमा, न्यूनतम चुक्ता पुँजी कोष कायम नगरेमा समस्याग्रस्त घोषणा गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस