काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च गरेका हुन् ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा गत असोज ४ देखी १४ गतेसम्म ३० सदस्यीय टोली अमेरिका भ्रमणमा गएका थिए ।
प्रधानमन्त्रीको भ्रमणमा खर्च भएको रकम परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।