काठमाडौं, ७ पुस । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोग पत्र जिल्ला अदालत कास्कीमा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको हो । प्रतिवादीहरुविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ ।
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरिएको छ । त्यस्तै लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ । जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ । सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई सहित १९ जना विरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजी समेत रहेका छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । त्यसपछि प्रहरीले ९० दिन लगाएर अनुसन्धान टुंग्याएको हो ।