काठमाडौं, ७ पुस । विद्युत उत्पादन कम्पनीले जलविद्युत आयोजनाको लगानीका लागि आह्वान गरेको प्रस्तावका लागि १५ दिन समय थपेको छ ।
शनिबार सूचना निकालेर किमाथांका अरुण र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको लगानीका लागि आह्वान गरेको प्रस्तावमा १५ दिनको समय थप गरिएको कम्पनीले जनाएको छ ।
यी आयोजनामा लगानी गर्न इच्छुक भएका कम्पनीले पुस २३ गते १२ बजेसम्म आवेदन दिन सक्ने छन् । सोही दिन दिउँसो २ बजे आवेदन दिएका कम्पनीहरूको प्रस्ताव खोलिने उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाहीले बताए ।
कम्पनीले वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको हो ।