काठमाडौं, ५ पुस । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् ।
संरक्षण परिषद्को पहिलो बैठकले लोहनीलाई ४ वर्षका लागि विश्वविद्यालयको कुलपतिमा चयन गरेको जनाइएको छ ।
सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए । उनले सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।